जनकपुरबाट कांग्रेसको १० बुँदे भिजन सार्वजनिक, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारा

User Image Prime TV News एक महिना अगाडि
Image of जनकपुरबाट कांग्रेसको १० बुँदे भिजन सार्वजनिक, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारा

काठमाडौ । नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू प्रस्तुत गरिएको हो।

कार्यक्रममा बोल्दै सभापति गगन थापाले “बदलियो कांग्रेस, बदलिन्छ देश” भन्ने उद्घोषसहित नागरिकको जीवनस्तर उकास्ने ठोस प्रतिबद्धता व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा ढिलासुस्ती अन्त्य र प्रविधिमार्फत घरमै बसेर सेवा पाउने व्यवस्था मिलाइने बताए।

भिजन दस्तावेजमा जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। सत्ता र शक्तिको पहुँचका आधारमा पाइने विशेषाधिकार अन्त्य गरी विधिको शासन कडाइका साथ लागू गरिने उल्लेख गरिएको छ।

आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन, सम्पत्ति सिर्जनामा सहयोग र लगानीमैत्री वातावरण निर्माण गर्ने नीति अघि सारिएको छ। युवाहरूले नेपालमै भविष्य देख्न सक्ने अवस्था सिर्जना गरी वैदेशिक पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ।

कृषिलाई मर्यादित र सम्मानित पेसाका रूपमा विकास गर्ने, प्रविधि र बजारको उचित व्यवस्थापनमार्फत किसानलाई सशक्त बनाउने योजना सार्वजनिक गरिएको छ। साथै पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई समुन्नतिको आधार स्तम्भका रूपमा अघि बढाइने जनाइएको छ।

‘ओखती र ओत दिने नेपाल’ को परिकल्पनासहित उपचारकै कारण कोही पनि गरिब हुन नपर्ने व्यवस्था गरिने उल्लेख छ। गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने र शिक्षा क्षेत्रमा अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

नेपालको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई आत्मसात गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने कांग्रेसको भिजनमा उल्लेख छ। कांग्रेसले सार्वजनिक गरेको उक्त भिजनलाई आगामी निर्वाचन र सरकार सञ्चालनको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ।