काठमाडौ–५ मा ईश्वर पोखरेलको घरदैलो तीव्र, नमुना क्षेत्र बनाउने प्रतिबद्धता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का काठमाडौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
पछिल्ला दिनमा उनले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई विस्तार गर्दै टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। बुधवार टोखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश निर्माणको शक्ति भएको दाबी गरे। “एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” उनले भने। उनले पार्टीले विगतदेखि नै विकास र स्थायित्वका पक्षमा काम गर्दै आएको उल्लेख गरे।
घरदैलोका क्रममा पोखरेलले मतदाताका गुनासा, सुझाव र आलोचना सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले फरक परिस्थितिमा हुन गइरहेको निर्वाचनले देशको भावी दिशा निर्धारण गर्ने भन्दै देशलाई सही मार्गमा लैजान एमालेको जित आवश्यक रहेको औँल्याए।
२१ फागुनमा तय निर्वाचनलाई लक्षित गर्दै उनले काठमाडौ–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिरहेका छन्। पूर्वाधार विकास, सेवा प्रवाहको सुधार र स्थानीय समस्याको दिगो समाधानलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।







