महाशिवरात्रि पछि पशुपतिमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका देश विदेशका साधुसन्तलाई परम्पराअनुसार दक्षिणासहित बिदाइ गरिएको छ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले संयुक्त रूपमा मंगलबार साधुसन्तलाई दक्षिणा प्रदान गर्दै औपचारिक बिदाइ गरेका हुन्। महाशिवरात्रिका लागि नेपाल प्रवेश गरेदेखि नै साधुसन्तको बसोबास, भोजन तथा धुनीको व्यवस्था संस्थान र कोषले मिलाएको थियो।
कोषका अनुसार परम्पराअनुसार साधुसन्तको वर्गीकरण गरी दक्षिणा वितरण गरिएको हो। नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी तथा सामान्य बाबालाई अलग–अलग समूहमा राखी दक्षिणा दिने प्रचलन रहिआएको छ।
गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तका मुखियाले उपलब्ध गराएको विवरणका आधारमा वर्गीकरण गरी दक्षिणा दिइएको जानकारी दिइन्। महाशिवरात्रिपछि फागुन कृष्ण औँसीका दिन साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा अनुसार यस वर्ष पनि कार्यक्रम सम्पन्न गरिएको हो।
गुठी संस्थानले छुट्याएको बजेटमा कोषले थप रकम व्यवस्थापन गरी बिदाइ कार्यक्रम सम्पन्न गरेको जनाएको छ।












