मोहम्मद युनुसले कार्यकाल पूरा गर्दै राष्ट्रिय सार्वभौमसत्ता र परराष्ट्र स्वतन्त्रता सुनिश्चित गरेको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले आफ्नो १८ महिनाको कार्यकालले देशको सार्वभौमसत्ता, राष्ट्रिय हित र परराष्ट्र नीतिलाई स्वतन्त्र बनाएको दाबी गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले अब बंगलादेश “कसैको अर्ती वा उपदेशमा चल्ने दबिएको राष्ट्र” नरहेको स्पष्ट पारे। उनले आफ्नो कार्यकालमा देशको परराष्ट्र नीति स्वतन्त्र र मर्यादित बनाएको उल्लेख गर्दै, खुला समुन्द्रलाई ‘रणनीतिक सम्पत्ति’को रूपमा प्रयोग गरी दक्षिण एसियाली क्षेत्रमा आर्थिक अवसरको ढोका खोलिएको बताए।
युनुसले नेपाल, भुटान र उत्तर-पूर्वी भारतसँगको क्षेत्रीय सहयोग र कनेक्टिभिटी विस्तार गर्न सके बंगलादेशको विकासमा नयाँ उचाइ हासिल हुने पनि बताए। उनले भने, “हाम्रो खुला समुन्द्र केवल भौगोलिक सीमा मात्र होइन, यो विश्व अर्थतन्त्रमा प्रवेश गर्ने महत्त्वपूर्ण ढोका हो।”
सन् २०२४ अगस्टदेखि सुरु भएको युनुसको अन्तरिम शासन मंगलबार नयाँ सरकारको शपथ ग्रहणसँगै समाप्त हुँदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टीले २९७ मध्ये २०९ सिट जितेर भारी बहुमत हासिल गरेको थियो।
पदबाट बिदा लिँदै युनुसले सबै नागरिकलाई पार्टी, धर्म र जातभन्दा माथि उठेर न्यायपूर्ण, मानवीय र लोकतान्त्रिक बंगलादेश निर्माणको अभियानमा सक्रिय हुन आह्वान गरे।












