भारत नेपाल धार्मिक करिडोर: पशुपतिनाथ–बैजनाथधाम जोड्न नयाँ सडक निर्माण प्रस्ताव स्वीकृत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारत सरकारले नेपालका पशुपतिनाथ मन्दिर र झारखण्डको बैजनाथधाम जोड्ने नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ। प्रस्तावित करिडोरले धार्मिक यात्रुहरूका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने र धार्मिक पर्यटनलाई बढावा दिने अपेक्षा गरिएको छ।
बिहारका सडक निर्माण मन्त्री दिलीप जैसवालले मंगलबार विधानसभामा जानकारी दिँदै बताए कि सन् २०२६/२७ को बिहार बजेटमा यस करिडोर निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको छ। उनले करिडोर काठमाडौँबाट सुरु भई भीमनगर, वीरपुर, सुपौल, मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका हुँदै झारखण्डको देवघरमा पुग्ने जानकारी दिए।
प्रस्तावित करिडोरले सुल्तानगञ्ज अगुवानीघाटमा निर्माण भइरहेको पुलबाट पनि गुज्रिनेछ र कुल लम्बाइ २४० किलोमिटर हुने बताइएको छ। करिडोरमा पैदल यात्रुका लागि विशेष सर्भिस रोड निर्माण गरिने योजना छ, जसले नांगो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई सहजता दिनेछ।
करिडोर निर्माणले धार्मिक यात्रुहरूको मात्र नभई व्यापार र आर्थिक सम्बन्धमा पनि नयाँ गति ल्याउने विश्वास गरिएको छ। भागलपुरका जिल्ला अधिकारी नवल किशोर चौधरी का अनुसार मार्गचित्र तयार भइसकेको छ र विस्तृत प्रस्ताव प्राप्त हुनासाथ यसको कार्यान्वयन सुरु गरिनेछ।












