शान्ति वार्ताअघि युद्ध झन् उग्र: ब्ल्याक सी क्षेत्रमा आक्रमण, ऊर्जा पूर्वाधार निशानामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रुस–युक्रेनबीच शान्ति वार्ताको नयाँ प्रयास सुरु हुनै लाग्दा दुवै देशले आक्रमणलाई झन् तीव्र बनाएका छन्।
कूटनीतिक पहलभन्दा मैदानमा शक्ति प्रदर्शन हाबी भएको यो अवस्थाले तत्काल शान्तिको सम्भावनालाई झन् कमजोर बनाएको छ। ब्ल्याक सी क्षेत्रमा भएको एक ठूलो ड्रोन आक्रमणमा युक्रेनले रुसको तामान ब्ल्याक सी पोर्टलाई निशाना बनाएको छ।
आक्रमणपछि बन्दरगाह परिसरमा आगलागी भएको र एक तेल भण्डारण ट्यांक, गोदाम तथा टर्मिनलमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा कम्तीमा दुई जना घाइते भएका छन्।
यस आक्रमणलाई युक्रेनको दीर्घकालीन रणनीतिक कदमका रूपमा हेरिएको छ। युक्रेनले लामो दूरीका ड्रोन प्रयोग गर्दै रुसका ऊर्जा र तेल निर्यातसँग जोडिएका संरचनालाई लक्षित गरिरहेको छ, ताकि युद्धबाट हुने आम्दानी घटाएर रुसको सैन्य क्षमता कमजोर पार्न सकियोस्।
उता रुसले पनि जवाफी कारबाहीलाई निरन्तरता दिएको छ। रुसी ड्रोनको भग्नावशेष खस्दा युक्रेनको ओडेसा क्षेत्रमा नागरिक तथा यातायातका पूर्वाधारमा क्षति पुगेको छ। यसका कारण त्यहाँ बिजुली र पानी आपूर्ति अवरुद्ध भएको छ। युक्रेनले रुसले जाडोयामलाई हतियारका रूपमा प्रयोग गरी नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गर्न खोजेको आरोप लगाएको छ।
अमेरिकाको पहलमा रुस र युक्रेनका प्रतिनिधिबीच मंगलबार र बुधबार जेनेभामा नयाँ चरणको शान्ति वार्ता प्रस्तावित छ। तर वार्ताअघि नै भएका यी आक्रमणहरूले वातावरण झन् विषाक्त बनाएको छ।
जर्मनीमा आयोजित सुरक्षा सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टी बिना कुनै पनि शान्ति सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे। उनले डोनबास क्षेत्रका लागि प्रस्तावित ‘फ्री ट्रेड जोन’ मोडेलले युक्रेनको सुरक्षा सुनिश्चित नगर्ने भन्दै प्रश्न उठाए ।












