नेपालले वेस्ट इन्डिजविरुद्ध टस हार्दै ,पहिले ब्याटिङ गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा भइरहेको खेलमा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले पहिले ब्याटिङ गर्दै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने तयारी गरेको छ।
नेपाली टोलीले आजको खेलका लागि प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशीको स्थानमा तीव्र गतिका बलर सोमपाल कामीलाई समावेश गरिएको छ। टोली व्यवस्थापनले पिचको अवस्था र विपक्षीको ब्याटिङ शक्ति विचार गर्दै संयोजन परिवर्तन गरेको जनाएको छ।
समूह चरणका पहिलो दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल अत्यन्त निर्णायक बनेको छ। प्रतियोगितामा टिकिरहन नेपाललाई जित अनिवार्यजस्तै छ। यद्यपि बाँकी दुवै खेल जिते पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था रहनेछ।
वेस्ट इन्डिज भने लगातार दुई जितसहित उत्कृष्ट लयमा छ। आजको खेल जितेमा वेस्ट इन्डिज सुपर–८ मा स्थान सुरक्षित गर्नेछ। विपरीत, नेपाल पराजित भए एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले नेपालका लागि यो खेल ‘गर या मर’ को अवस्थासँग जोडिएको छ।












