राप्रपाको चुनावी घोषणापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा औपचारिक हट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले लामो समयदेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा औपचारिक रूपमा त्यागेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त विषय समावेश नगरिएपछि राप्रपाको राजनीतिक धारमा स्पष्ट परिवर्तन देखिएको हो।
यसअघि राप्रपाले राजसंस्थाको पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई केन्द्रीय राजनीतिक मुद्दाका रूपमा अघि बढाउँदै आएको थियो।
तर नयाँ घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबारे कुनै उल्लेख नहुनुले पार्टीले उक्त एजेन्डाबाट पछि हटेको संकेत गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठ ले पनि घोषणापत्र यस विषयमा मौन रहेको स्पष्ट पारेका छन्।
घोषणापत्रमा राप्रपाले शासकीय स्वरूपमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था, हालको खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक सुधार, प्रदेश संरचनाको खारेजी तथा केन्द्र र सशक्त स्थानीय तहसहितको दुई तहको शासन प्रणालीको प्रस्ताव अघि सारेको छ।
त्यसैगरी, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा तथा गैरदलीय स्थानीय तहको व्यवस्था पनि घोषणापत्रका प्रमुख एजेन्डामा समेटिएको छ।
राप्रपाले आफ्नो राजनीतिक गन्तव्यका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल : पृथ्वी पथ’ लाई अगाडि सारेको छ।







