निर्वाचनको दिनको मौसम अहिल्यै भन्न नसकिने
Prime TV News एक महिना अगाडि काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पानी पर्छ वा मौसम सफा हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
विभागका अनुसार तीन साता पछाडिको मौसमको ठ्याक्कै पूर्वानुमान गर्नु हालको मौसम विज्ञानको क्षमताभन्दा बाहिरको कुरा हो। निर्वाचन नजिकिँदै गर्दा विभिन्न निकायबाट मौसमबारे बुझ्ने प्रयास भइरहे पनि वैज्ञानिक आधारबिनै निष्कर्ष निकाल्नु गलत हुने विभागको स्पष्ट धारणा छ।
विभागले नियमित रूपमा तीन दिनसम्मको दैनिक मौसम पूर्वानुमान र विशेष परिस्थितिमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान मात्र दिने गरेको जनाएको छ। एक महिना अगावै दैनिक मौसमको अवस्था निर्धारण गर्नु वैज्ञानिक रूपमा सम्भव नभएको विभागले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ।
यद्यपि, विश्वव्यापी मौसमी प्रारुपहरूको आधारमा तयार पारिएको मासिक पूर्वानुमान अनुसार फेब्रुअरी महिनामा वर्षा औसतभन्दा कम र मार्च महिनामा औसत हाराहारीमा हुने सम्भावना रहेको छ। साथै फेब्रुअरी र मार्च दुवै महिनामा तापक्रम औसतभन्दा बढी रहने अनुमान गरिएको छ।
विभागले अहिले उपलब्ध तथ्यभन्दा बाहिर गएर निर्वाचनको दिनको मौसमबारे ठोकुवा गर्न नहुने स्पष्ट गर्दै, वास्तविक अवस्था जान्न निर्वाचन नजिकिँदै जाँदा जारी हुने छोटो अवधिको मौसम पूर्वानुमानलाई मात्र आधार मान्न आग्रह गरेको छ।












