काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुराको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यस्तै, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम ९नवलपरासी०, मोरङको मतपत्र छपाइ सम्पन्न भएको छ ।

त्यस्तै, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।

अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार दुई सय नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । त्यसैगरी छपाइ सम्पन्न भएको मतपत्र आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।