जेनजी आन्दोलनपछि संविधानभित्रैबाट निकास दिलाउन भूमिका खेलेको ऋषि धमलाको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ऋषि धमलाले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटलाई संविधानभित्रैबाट समाधान गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन्।
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले आन्दोलनपछि देश अन्योलतामा फसेको, कर्फ्यू लागेको र राजनीतिक अस्थिरता बढेको अवस्थामा आफूले पहल लिएको बताए । उनका अनुसार, उनले सुधन गुरुङसहित जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग करिब ७ घण्टा लामो वार्ता गरेका थिए। त्यसपछि सबै पक्षलाई एकै ठाउँमा राखेर संवाद गराएको र सहमतिका लागि पहल गरेको उनको भनाइ छ।
धमलाले प्रधानसेनापति र राष्ट्रपतिसमेत वार्तामा संलग्न भएको उल्लेख गर्दै संविधान र लोकतन्त्र जोगाउने गरी मध्यमार्गी सहमतिको प्रस्ताव आफूले अघि सारेको दाबी गरे। सोही प्रस्तावका आधारमा सहमति जुटेको र त्यसपछि सुशीला कार्की प्रधानमन्त्री बनेको उनले बताए।
उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू आफूले यसअघि नै उठाउँदै आएको जिकिर गर्दै आफ्नो भूमिकालाई इतिहासले मूल्यांकन गर्ने दाबीसमेत गरे।







