विनोद चौधरीले ३ वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरे, मतदातासँग जवाफदेही बन्ने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of विनोद चौधरीले ३ वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरे, मतदातासँग जवाफदेही बन्ने प्रतिबद्धता

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।

चौधरीले २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएका प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था जनतासँग साझा गरेका हुन् । प्रतिनिधि सभा विघटनपछि आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन प्रस्तुत गरेका हुन्।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले भने, “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोध्न सक्छ। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको जवाफ दिनु मेरो जिम्मेवारी हो।”

उनका अनुसार उक्त रिपोर्ट कार्ड डिजिटल रूपमै सार्वजनिक गरिएको छ भने प्रिन्ट प्रतिहरू सचिवालय, नेपाली कांग्रेस क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय र निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुनेछन्।

चौधरीले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्।