गौरीबहादुर कार्की आयोगको प्रतिवेदन ढिलाइमा जेनजी नेताको गम्भीर आपत्ति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिकमा ढिलाइ भएकोमा जेनजी आन्दोलनकी एक नेतृले गम्भीर आपत्ति जनाएकी छिन्।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छन् कि आयोगले प्रतिवेदन बुझाउने म्याद पटक पटक थप्दा सार्वजनिकमा अन्योल र डर उत्पन्न भएको छ। सरकारले आयोगको प्रतिवेदन पहिलो पटक ३ पुस २०८२ मा १ महिनाका लागि, दोस्रो पटक ८ माघमा २० दिनका लागि, र तेस्रो पटक २५ दिनका लागि म्याद थपेको थियो। पछिल्लो म्याद फागुन २१ को निर्वाचनपछि प्रतिवेदन सार्वजनिक हुने गरी निर्धारण भएको छ।
नेतृले आफ्नो आशंका व्यक्त गर्दै भनिन्, “कतै पुराना सरकार जस्तै यस सरकारले पनि प्रतिवेदन चुनावको बहानामा कुनामा थन्क्याउने त होइन?” उनले भदौ २३–२४ का दोषीलाई कारबाहीमा ल्याउन वर्तमान सरकारले स्पष्ट प्रतिबद्धता देखाउनुपर्ने माग गरेकी छिन्। उनले थपिन् कि चुनावी प्रक्रिया र संविधानको ट्रयाकमा राखिए पनि न्यायको मुद्दा ओझेलमा पर्नु हुँदैन।







