नेपाललाई ‘ग्रे लिष्ट’ चुनौती र अवसर दुबै गभर्नर पौडेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाल फाइनान्सियल एक्सन टास्कफोर्सको ‘ग्रे लिष्ट’मा पर्नु चुनौतीपूर्ण भए पनि यसलाई देशको वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले भन्यो कि ग्रे लिष्टले मुलुकलाई आन्तरिक प्रणालीलाई पारदर्शी, सुदृढ र विश्वव्यापी मापदण्डअनुसार सुधार्ने शिक्षा दिएको छ।
उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी वित्तीय अपराध बढ्दो भएकाले त्यसको नियन्त्रणका लागि सुपरिवेक्षण संयन्त्रलाई पर्याप्त स्रोतसाधनसहित सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। “समस्या आएपछि मात्र होइन, अग्रिम तयारी गर्नुपर्छ,” उनले जोड दिए।
प्रा. डा. पौडेलले कानुनी छिद्र प्रयोग गरी हुने वित्तीय अपचलनले मुलुकको स्वास्थ्य र शिक्षामा खर्च घटाउने र सामाजिक असमानता बढाउने जोखिम रहेको पनि बताए। सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन्। सम्मेलन बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ।












