सामाजिक सञ्जालमा अनुशासन कडाइ गर्दै कांग्रेस कञ्चनपुरद्वारा कार्यकर्तालाई निर्देशन
Prime TV News एक महिना अगाडि 
कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरले पार्टी अनुशासनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गर्दै आफ्ना नेता–कार्यकर्तालाई सामाजिक सञ्जाल तथा चुनावी गतिविधिमा सतर्क रहन निर्देशन दिएको छ। बुधबार जारी विज्ञप्तिमार्फत पार्टीले आफ्ना उम्मेदवारबाहेक अन्य उम्मेदवारको पक्षपोषण हुने कुनै पनि अभिव्यक्ति नदिन स्पष्ट आग्रह गरेको हो।
पार्टी सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक तथा कुनै पनि प्रकारका प्रचार प्रसारका गतिविधि नगर्न निर्देशन दिइएको छ। विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध जाने वा विपक्षी दलका उम्मेदवारलाई समर्थन जनाउने अभिव्यक्तिबाट टाढा रहन कार्यकर्तालाई सचेत गराइएको छ।
यसैगरी, कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई उम्मेदवारको पछि लागेर हिड्ने प्रवृत्ति त्यागेर आफ्नै टोल र वडामा केन्द्रित भएर सक्रिय हुन अनुरोध गरेको छ। स्थानीय बासिन्दासँग छलफल, विचार आदान प्रदान तथा सहजीकरणका काममा ध्यान दिन आग्रह गर्दै आ–आफ्नो क्षेत्रमा जनमत सिर्जनामा जुट्न निर्देशन दिइएको छ।
आवश्यकता परी अन्य वडामा जानुपर्ने भए सम्बन्धित पार्टी सचिवालयलाई जानकारी गराएर मात्र जान भनिएको छ। पार्टीले सबै तहका नेता कार्यकर्तालाई परिचालन भई कांग्रेसका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्न आह्वान गरेको छ।







