फागुन २ गतेभित्र कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
प्रवक्ता चालिसेका अनुसार पार्टीको प्रारम्भिक योजना फागुन १ गते नै प्रतिज्ञापत्र सार्वजनिक गर्ने रहेको छ। यद्यपि, प्राविधिक वा व्यवस्थापकीय कारणले ढिलाइ भएमा पनि ढिलोमा फागुन २ गतेसम्म सार्वजनिक गरिने उनले स्पष्ट पारे। “हाम्रो तयारी फागुन १ गतेका लागि छ, ढिलोमा २ गते सार्वजनिक गर्छौँ,” चालिसेले भने।
निर्वाचन आयोगले मंगलबार एक निर्देशन जारी गर्दै फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र आफ्नो घोषणापत्र सार्वजनिक गरिसक्न आग्रह गरेको थियो। सोही निर्देशनअनुसार कांग्रेसले तोकिएको समयसीमाभित्रै आफ्नो दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको हो।
यस पटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’का रूपमा प्रस्तुत गर्ने जनाएको छ। पार्टीका नेताहरूका अनुसार यसमार्फत मतदातासमक्ष स्पष्ट प्रतिबद्धता र कार्ययोजना राखिनेछ । कांग्रेसले सार्वजनिक गर्ने प्रतिज्ञापत्रमा आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरणलगायत विषयलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।












