आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई

User Image Prime TV News एक महिना अगाडि
Image of आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् ।

अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताइन् ।

उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावनाअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा थप कदम उठाउने विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयाप्त संरचना र कानूनी तथा नीतिगत व्यवस्था भएपनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण नसक्नुको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगकै भएको धारणा राखिन् । 

भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्ने प्रवृति अन्त्य नभएसम्म चाहेको सुधार गर्न नसकिने प्रधानमन्त्री कार्कीको भनाई थियो । त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार गठन भएको वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको उल्लेख गरिन् ।

यसैगरी वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको, राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरु रोकेको र दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरुको बजेट कटौती गरेको बताइन् । 

उनले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको समेत बताइन् । यसबीचमा भ्रष्टाचारविरुद्धका कारबाहीहरुलाई तीव्र पार्न राज्यका भएकै संरचनाहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेको र केही दूरगामी परिणाम देखिने गरी जग बसालेको प्रधानमन्त्री कार्कीले बताईन् ।