सरकारी सेवा प्रणालीप्रति गगन थापाको कडा आलोचना, डिजिटल गभर्नेन्स अपरिहार्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा देखिएको चरम ढिलासुस्ती र जनताले भोग्नुपरेको हैरानीप्रति कडा असन्तुष्टि जनाउँदै अब परम्परागत प्रशासनिक शैलीले काम नचल्ने बताएका छन्।
उनले डिजिटल गभर्नेन्सलाई विकल्प होइन, अनिवार्य आवश्यकताका रूपमा अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा थापाले सरकारी सेवा लिन लाइन बस्नुपर्ने, फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहने र काम अनावश्यक रूपमा अल्झिने अवस्थालाई गम्भीर समस्या भएको उल्लेख गरे।
“सामान्य सेवा लिन पनि नागरिकले समय, श्रम र आत्मसम्मान गुमाउनुपर्ने अवस्था लाजमर्दो छ,” उनले भने। हालको प्रशासनिक संयन्त्र नतिजामुखी नभएको आरोप लगाउँदै थापाले अबको राज्य संयन्त्र चुस्त, पारदर्शी र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।
उनले ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को सिद्धान्तअनुसार प्रशासनिक संरचना पुनःसंरचना गर्नुपर्ने बताए। कागज र फाइलमा आधारित सेवा प्रणालीले जनतालाई दुःख दिएको भन्दै थापाले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहको शैली नै परिवर्तन गर्नुपर्ने धारणा राखे।
“डिजिटल गभर्नेन्समार्फत लाइन र फाइलको संस्कृति अन्त्य गरेर नागरिकलाई सहज सेवा दिने हाम्रो स्पष्ट प्रतिबद्धता हो,” उनले स्पष्ट पारे।
राज्यका सेवामा देखिएको ढिलासुस्ती र प्रशासनिक अराजकताले नागरिकको विश्वास कमजोर बनाइरहेको भन्दै थापाले प्रविधिमैत्री प्रशासन नै यसको एकमात्र व्यावहारिक समाधान भएको बताए।







