कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीविरुद्ध विभागको कडा अनुगमन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ।
विभागले उपभोक्तालाई दुःख दिने नियतले अभाव सिर्जना गर्ने उत्पादक, आयातकर्ता, सञ्चयकर्ता र विक्रेतामाथि अन्य सम्बन्धित निकायको सहयोगमा संयुक्त बजार अनुगमन सञ्चालन गरिरहेको जनाएको छ।
उपभोक्तालाई राहत दिन र कालोबजारी तथा लुकाइछिपाइ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाइएको विभागको भनाइ छ।
पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई अनावश्यक सास्ती दिने काम भइरहेको छ। कानुनविपरीत ग्यास लुकाउने, वितरणमा खेलबाड गर्ने तथा मूल्यमा मनपरी गर्ने फर्म र प्रतिष्ठानमाथि विभागले कारबाही अघि बढाइसकेको जनाएको छ।
विभागले प्रचलित कानुन विपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै यस्ता कार्यमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज रहेको दाबी गरिरहे पनि उपभोक्ताले सजिलै ग्यास नपाएको गुनासो बढ्दै गएको छ।












