अन्तर्राष्ट्रिय बजारको असरः नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of अन्तर्राष्ट्रिय बजारको असरः नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्य एकाएक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा भएको यस वृद्धिले सुन खरिद गर्ने उपभोक्तालाई थप आर्थिक भार परेको छ। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेकै कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको जनाएको छ। पछिल्लो समय विश्व बजारमा देखिएको अस्थिरता, डलरको मूल्य र अन्तर्राष्ट्रिय माग बढ्नुले मूल्यवृद्धि भएको बताइएको छ।