नेपाली कांग्रेसले ‘जहाँ जिम्मेवारी, त्यहीँबाट चुनाव’ नीति लागू गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसले ‘जहाँ जिम्मेवारी, त्यहीँबाट चुनाव’ नीति लागू गर्ने

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी रहेको स्थानबाटै चुनावी अभियानमा खटिने निर्णय गरेको छ।

आइतबार भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२ पारित गर्दै उक्त निर्णय गरेको हो। निर्देशिकाअनुसार फागुन १ देखि २१ गतेसम्म ‘मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित पार्टीका सबै साथीहरू चुनावी मैदानमा सक्रिय हुनेछन्।

निर्देशिकाको बुँदा नम्बर २१ मा उल्लेख भएअनुसार, पार्टीले ‘जसको पदीय जिम्मेवारी जहाँ छ, उसले त्यहीबाट खट्ने’ नीति अवलम्बन गर्नेछ। यसअनुसार संघ, प्रदेश, जिल्ला तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा खटाइएका प्रतिनिधिहरूले तोकिएको जिम्मेवारी पूरा गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित भएर काम गर्नुपर्नेछ।

त्यसैगरी, विशेष जिम्मेवारी लिएर अन्यत्र खटिएका बाहेक बाँकी सबै तहका पदाधिकारी तथा सदस्यलाई आफ्नै क्षेत्रमा रहेर चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। निर्देशिकामा ‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगई “हाम्रो वडा हामी जिताउँछौं” भन्ने उद्घोषका साथ आफ्नै वडामा सक्रिय हुनुपर्ने’ उल्लेख गरिएको छ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरूले पनि सोहीअनुसार आ–आफ्नो क्षेत्रमै रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचन परिचालन निर्देशिका–०८२ र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ पारित गरिएको छ ।