वरिष्ठ अभिनेता सुनिल थापाको शवको पोस्टमार्टम गरिने

User Image Prime TV News एक महिना अगाडि
Image of वरिष्ठ अभिनेता सुनिल थापाको शवको पोस्टमार्टम गरिने

काठमाडौ । वरिष्ठ अभिनेता सुनिल थापाको शवको पोस्टमार्टम गरिने भएको छ।

परिवारको आग्रहपछि अन्त्येष्टिअघि अनिवार्य रूपमा पोस्टमार्टम गर्ने निर्णय गरिएको हो। कलाकार सङ्घ नेपालका अध्यक्ष मोहन निरौलाका अनुसार भारतको मुम्बईमा बसोबास गर्दै आएका थापाका परिवारका सदस्य शनिबार राति काठमाडौँ आइपुगेका थिए।

परिवारले मृत्युको कारण औपचारिक रूपमा पुष्टि गर्न पोस्टमार्टम आवश्यक रहेको बताएपछि प्रक्रिया अघि बढाइएको निरौलाले जानकारी दिए। पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको स्पष्ट निर्णय छ।

शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा थापाको निधन भएको थियो। शंखमुलस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र क्षेत्रमा सक्रिय थिए।

नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि नायकसरह सम्मान र लोकप्रियता दिलाएका थापा ‘राते काइँला’ नामले विशेष परिचित थिए। उनले फिल्म ‘चिनो’ मार्फत यो पहिचान बनाएका थिए। थापाले नेपाली र बलिउड फिल्म गरेर ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।