इरानको तेल कारोबार लक्षित गर्दै ट्रम्प प्रशासनको थप प्रतिबन्ध

User Image Prime TV News एक महिना अगाडि
Image of इरानको तेल कारोबार लक्षित गर्दै ट्रम्प प्रशासनको थप प्रतिबन्ध

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग जोडिएका निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

अमेरिकी प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित ‘छायाँ जहाज समूह’मा समावेश १४ वटा जहाज परेका छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यात रोक्ने उद्देश्यले प्रतिबन्ध लगाइएको जनाएको छ।

मन्त्रालयका अनुसार यो कदम इरानमाथि आर्थिक दबाब तीव्र बनाउने समग्र रणनीतिकै अंश हो। यो प्रतिबन्ध घोषणा ओमानको मस्कटमा अमेरिका र इरानबीच भएको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो।

इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको बताएका छन्। उनले अमेरिका–इरानबीच तेल कारोबार, प्रतिबन्ध वा अन्य राजनीतिक विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

अराघचीले विगतका अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास रहेको स्वीकार गर्दै यही अविश्वास नै वार्ताको सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्।

प्रतिबन्ध थपिँदै जानु र विश्वासको अभाव कायम रहनुका बीच कूटनीतिक समाधान सम्भव छ कि छैन भन्ने प्रश्न अझ गम्भीर बनेको छ। एकातिर वार्ताको घोषणा, अर्कोतिर कडा प्रतिबन्धको दोहोरो नीति व्यवहारमा इरानलाई झुकाउनेभन्दा टकरावलाई नै बढाउने जोखिम बोकेको देखिन्छ।