आईसीसी टी–२० विश्वकप आजबाट औपचारिक रूपमा सुरु, २० टोली उपाधि दौडमा

User Image Prime TV News एक महिना अगाडि
Image of आईसीसी टी–२० विश्वकप आजबाट औपचारिक रूपमा सुरु, २० टोली उपाधि दौडमा

काठमाडौ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ। भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा विश्वका २० टोली सहभागी भएका छन्।

विश्वकपको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स आमनेसामने भएका छन्। श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिला ब्याटिङ गरेको छ।

आजै दुई अन्य खेल पनि हुँदैछन्। दिउँसो सवा ३ बजे भारतको कोलकातास्थित इडेन गार्डेनमा वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्नेछन्। यस्तै, साँझ सवा ७ बजे मुम्बईको वानखेडे रंगशालामा आयोजक भारत र अमेरिका भिड्नेछन्।

विश्वकपमा सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड्स रहेका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन्।

समूह ‘सी’ मा नेपालसहित इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली परेका छन्। नेपालका लागि यो समूह चुनौतीपूर्ण छ, तर इतिहास बनाउने अवसर पनि यही हो। समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा रहेका छन्।