क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामै राख्न सर्वोच्चको आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतले पूर्ण रूपमा सदर गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको आदेश कानुनी र उचित रहेको ठहर गरेको हो। यससँगै उच्च पदको आडमा उन्मुक्ति खोज्ने प्रयास असफल भएको छ।
यसअघि विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले नलिञ्चोक हेलिपोर्ट निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै गत मङ्सिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध अधिकारी निवेदन लिएर सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले निवेदन खारेज गर्दै अनुसन्धान र अभियोजनमा कुनै बदनियत नरहेको स्पष्ट पारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ राज्यकोष हिनामिना भएको अभियोगमा अधिकारीसहित पाँच जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।







