प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, दैनिक १३ लाख छपाइ हुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, दैनिक १३ लाख छपाइ हुँदै

काठमाडौ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम तीव्र बनाएको छ ।

केन्द्रले हाल दैनिक १३ लाखसम्म मतपत्र छपाइ गरिरहेको जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ छपाइ गर्नुपर्ने कुल दुई करोड तीन लाखभन्दा बढी मतपत्रमध्ये बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ । बाँकी मतपत्र आगामी एक साताभित्र छपाइ गरी प्याकिङ गरिने उनले जानकारी दिए ।

यसअघि केन्द्रले १० लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई उपलब्ध गराइसकेको छ, जसलाई आयोगले विभिन्न स्थानमा वितरण गरिसकेको छ । समानुपातिक प्रणालीतर्फ भने दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार समानुपातिकतर्फका मतपत्र माघ २५/२६ गतेदेखि ढुवानी सुरु गरिनेछ भने प्रत्यक्षतर्फका मतपत्रको छपाइ यही महिनाभित्र सकाएर फागुन १/२ गतेसम्म जिल्लाहरूमा पठाइसक्ने तयारी गरिएको छ ।

हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ८० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको बताइएको छ । निर्वाचन आयोगको योजना अनुसार आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने गरी केन्द्रले काम गरिरहेको पौडेलले बताए ।

यस्तै, निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूले नै खरिद गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।