कांग्रेसलाई देश सम्हाल्ने जिम्मेवार शक्तिः सभापति गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसलाई देश सम्हाल्ने जिम्मेवार शक्तिः सभापति गगन थापा

पोखरा । कास्कीमा सम्पन्न कांग्रेस सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको अवस्था भित्र पुगेको बताएका छन्।

उनले भने, “देश सम्हाल्ने शक्ति चाहिएको छ। आगो जसले पनि लगाउन सक्छ, निभाउन धैर्य, क्षमता र तागत चाहिन्छ। त्यो शक्ति हामीले राख्नुपर्छ।” थापाले नागरिकहरूमा गहिरो रिस र राज्यका संस्थाप्रति चरम अविश्वास रहेको भन्दै यस्तो संवेदनशील परिस्थितिमा जिम्मेवार राजनीतिक नेतृत्वको आवश्यकता औल्याए।

उनले स्पष्ट पारे, “उत्तेजना फैलाउने काम सजिलो छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिन्छ, त्यो शक्ति नेपाली कांग्रेसमा छ। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ।” सभापति थापाले मुलुकमा देखिएको निराशाको मुख्य कारण भ्रष्टाचार भएको बताए।

उनले भने, “सबैभन्दा ठूलो शत्रु भनेको भ्रष्टाचार हो। यसविरुद्धको सबैभन्दा ठूलो योद्धा नेपाली कांग्रेस हो। हामीले हिजो हिंसाबाट देशलाई बाहिर निकाल्यौं, आज भ्रष्टाचारको आहालबाट देशलाई निकास दिन हामी तयार छौँ।”

थापाले पार्टीका नेता कार्यकर्ताहरूलाई घरदैलो अभियानमार्फत नागरिकसम्म कांग्रेसले देश सुधार्ने सन्देश पुर्‍याउन आग्रह समेत गरेका छन्।