त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई फरक घटनामा सुनसहित दुई जना पक्राउ
Prime TV News २ महिना अगाडि 
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको नियमित जाँचका क्रममा सुन तस्करीसँग सम्बन्धित दुई फरक घटनामा दुई जना व्यक्ति पक्राउ परेका छन्।
पहिलो घटनामा विमानस्थल परिसरमा सरसफाइको काम गर्दै आएका एक कर्मचारी डस्टबिनबाट सुन निकाल्दै गर्दा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिमा कार्यरत ४० वर्षीय डिकबहादुर राउत रहेका छन्। विमानस्थल प्रहरीले डस्टबिनको फोहोर बाहिर लैजाँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा उनको साथबाट ४.४ ग्राम सुन बरामद गरेको जनाएको छ।
त्यसैगरी, दुबईबाट काठमाडौं आइपुगेका एक भारतीय नागरिकको साथबाट पनि प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ। आगमन कक्षमा गरिएको जाँचका क्रममा ती यात्रुको साथबाट एक सय ग्राम सुन फेला परेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद गरिएको सुनको स्रोत तथा प्रयोगबारे स्पष्ट पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विमानस्थलमा सुरक्षा निगरानी कडा पारिएको र अवैध गतिविधि नियन्त्रणका लागि नियमित जाँचलाई अझ प्रभावकारी बनाइने बताइएको छ।












