एमालेको चुनावी घोषणा पत्र तयारी अन्तिम चरणमा: ईश्वर पोखरेल
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता तथा काठमाडौ–५ का उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई कमजोर पार्ने उद्देश्यले देशभित्र र बाहिरबाट षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले भने, “बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा बलियो हुनुपर्छ। भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ। हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ।”
पोखरेलले एमालेको घोषणापत्र राष्ट्रिय हित, स्वतन्त्रता र स्वाधीनताको सवालमा आधारित हुने बताए। उनले सामाजिक सदभाव र राष्ट्रिय एकताको रक्षा पार्टीको प्राथमिकता हुने र अरूमाथि कटाक्ष गर्नुको सट्टा आफ्नै कार्ययोजनामा केन्द्रित भएर काम गर्ने एमालेको दृष्टिकोण रहेकाले त्यसमा सम्झौता नहुने बताए।
नेता पोखरेलले जनजागरण (जेनजी) आन्दोलनका मागहरू अनुचित नभएको तर आन्दोलन हाइज्याक भएपछि स्थिति षड्यन्त्रतर्फ धकेलिएको बताए। उनले उपत्यकामा एमालेले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी पनि गरे। साथै उनले चुनावी घोषणा पत्र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
उनले उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा घोषणापत्रमा समेटिने विषयबारे समेत प्रकाश पारे। पोखरेलले भने, “हामी घोषणा पत्र तयारीमा छौं। चाँडै नै यसलाई सार्वजनिक गर्नेछौं। नेकपा एमालेले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको पक्षमा जोड दिनेछ।”
उनले सामाजिक सद्भाव कायम राख्न, विकास निर्माणलाई अगाडि बढाउन र सुशासन कायम गर्न घोषणापत्र केन्द्रित हुने बताए। यसमा भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगार तथा संविधान संशोधन सम्बन्धी विषयहरू पनि समेटिने छन्।
पोखरेलले थपे, “यसपटकको घोषणामा पृथक ढंगले हामी प्रस्तुत हुनेछौं। कुन काम, कति बेला र कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्दै घोषणा पत्र सार्वजनिक गरिनेछ।”







