झापा-५ क्षेत्रबाट कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा
Prime TV News २ महिना अगाडि 
झापा । नेपाली कांग्रेसले आगामी निर्वाचनमा झापा-५ क्षेत्रबाट कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट घोषणा गरेको छ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलिएका गठबन्धन सम्बन्धी अफवाहहरू गलत भएको बताएका छन्। भण्डारीका अनुसार, “गलत मनशाय भएका व्यक्तिहरूले कपोकल्पित सूचना फैलाएर मतदाता भ्रममा पार्न खोजेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचन अघि कुनै अन्य दलसँग गठबन्धन नहुने कुरा सार्वजनिक गरिसकेका छन् र पार्टी यस अडिग प्रतिबद्धतामा कायम रहेको छ।”
विज्ञप्तिमा कांग्रेसका शुभचिन्तक र कार्यकर्तालाई पनि अफवाहमा नपर्न र पार्टीको चुनाव चिन्ह “रुख” मा मतदान गर्न अनुरोध गरिएको छ। नेपाली कांग्रेसले झापा-५ बाट मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ। झापा-५ मा अन्य प्रतिस्पर्धीहरूमा एमाले अध्यक्ष केपी ओली, रास्वपा वरिष्ठ नेता बालेन शाह, र नेकपा उम्मेदवार रञ्जित तामाङ रहेका छन्।
यो कदमले कांग्रेसले झापा-५ मा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने स्पष्ट संकेत दिएको छ।







