जसपा नेपालको ‘घर फिर्ती अभियान’ले मधेस प्रदेशमा गति लिन थाल्यो
Prime TV News २ महिना अगाडि 
मधेस प्रदेश । जनता समाजवादी पार्टी नेपालले आफ्ना पूर्व सदस्य तथा अन्य दलमा गएका नेता कार्यकर्तालाई फर्काउने ‘घर फिर्ती अभियान’लाई तीव्र बनाएको छ।
चार महिनाअघि सुरु गरिएको यो अभियान प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा अझ सक्रिय बनाइएको हो। मंगलबार नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरी सहितका नेता तथा कार्यकर्तालाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ मा पार्टीमा स्वागत गरेका छन्।
यादवले चुनावी छलफल र भेटघाटलाई तीव्र बनाउँदै पार्टीमा प्रवेश गर्ने नेताहरूप्रति स्वागत व्यक्त गरेका हुन्। दिलकुमारी चौधरी जसपा नेपाल विभाजनको समयमा नागरिक उन्मुक्ति पार्टीमा गएकी थिइन्। उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघको मधेस प्रदेश उपाध्यक्ष पनि हुन्।
यसअघि सोमबार गोपालप्रसाद चौधरी र युवा नेता शिवशंकर यादव ‘शिवम’ पनि जसपा नेपालमा प्रवेश गरेका छन्। शिवम पहिले अशोक राई नेतृत्वको जसपामा आबद्ध थिए। जसपा नेपालले पार्टी विभाजनपछि गएका नेता तथा कार्यकर्तालाई फर्काउने अभियानलाई मधेस प्रदेशमा बलियो बनाई आगामी प्रतिनिधि सभा चुनावमा आफ्नो प्रभाव बढाउने रणनीतिमा जोड दिइरहेको छ।







