प्रभु बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

User Image Prime TV News २ महिना अगाडि
Image of प्रभु बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सुमन शर्मालाई दिइएको छ। बैंकको सञ्चालक समितिले मंगलबार बसेको बैठकमा शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रूपमा परिचित छन्। उनले यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा दिइसकेका छन्। त्यस्तै, उनी ग्लोबल आइएमई बैंक र एनएमबी बैंकमा पनि काम गरिसकेका छन्।

निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए। त्यसपछि बैंकले शर्मालाई नयाँ नेतृत्वका रूपमा नियुक्त गरेको हो। शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। एसबीआई बैंकमा सात वर्ष काम गरेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेका शर्मा अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन्।