राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मत स्वीकृत
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय सभाको सोमबार बसेको बैठकले विभिन्न तीन अध्यादेशलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
सिंहदरबारमा सम्पन्न बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले यी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ राष्ट्रिय सभामा पेस गरे ।
त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबारका लागि बोलाइएको छ।












