प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली : आईजीपी दानबहादुर कार्की
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा आईजीपी दानबहादुर कार्कीले प्रहरीको जागिरलाई केवल पेशा नभई विशिष्ट जीवनशैलीको रूपमा लिने आवश्यकता औँल्याएका छन्।
आइतबार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्कीले राज्यले दिएको अधिकारलाई जिम्मेवारीको रूपमा लिन प्रहरी निरीक्षकहरू सचेत हुनुपर्ने बताए।
उनले पुरानो दृष्टिकोण अनुसार सुरक्षामा गरिएको लगानीलाई “अनुत्पादक” ठानेको सोच परिवर्तन भएको उल्लेख गर्दै भने, “युग सुहाउँदो लगानी हुनु आवश्यक छ।” १८ महिना लामो तालिम पुरा गरेर प्रहरीको १८३औँ समूहका ९२ जना निरीक्षक आइतबार दीक्षित भएका छन्। दीक्षितमध्ये ९ महिला र ८३ जना पुरुष रहेका छन्।
दीक्षान्त समारोहमा आईजीपी कार्कीले भने, “धुलो टकटक्याएर उठेको प्रहरी पुनः नागरिकको सेवामा समर्पित भएको छ।” उनले प्रहरीको दायित्व थप बढेको र समाजको सुरक्षामा यसको योगदान महत्वपूर्ण रहेको बताए।







