थाहानगरमा एमालेको चुनावी माहोल, बाँस्कोटाले दोहोर्याए बर्तौलाको जित निश्चित रहेको दाबी
Prime TV News २ महिना अगाडि 
काठमाडौ । मकवानपुर–२ मा नेकपा एमालेको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैबीच एमाले नेता गोकुल बाँस्कोटाले पार्टीका उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
शनिबार मकवानपुरको थाहानगरमा आयोजित बर्तौलाको चुनावी घरदैलो अभियानमा सहभागी भएका बाँस्कोटाले स्थानीय मतदाताबीच उत्साहजनक माहोल देखिएको बताएका छन्। त्यसपछि आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले बर्तौलाको पक्षमा जनसमर्थन बलियो रहेको संकेत गरेका हुन्।
बाँस्कोटाले फेसबुकमार्फत राजनीतिक सन्दर्भलाई प्रकृतिसँग तुलना गर्दै लेखेका छन् कि दृष्टिकोण फरक हुँदा मूल्याङ्कन पनि फरक देखिन्छ, तर अन्ततः महेश बर्तौलाको जित सानदार हुने उनको निष्कर्ष छ।
थाहानगरको कार्यक्रममा उनले महेश बर्तौलाको प्रशंसा गर्दै उनलाई अनुभवी र सम्भावनाशील नेताको रूपमा चित्रण गरेका थिए। बाँस्कोटाले बर्तौलामा पूर्वसभामुख सुवास नेम्बाङको झल्को देखिने भन्दै नेतृत्व क्षमता र राजनीतिक परिपक्वताको चर्चा गरेका थिए।
आइतबार पुनः उनले परिवारसहितको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत बर्तौलाको जितप्रति आफ्नो विश्वास दोहोर्याएका छन्।







