पश्चिमी वायुको असर कायमै, तराईमा हुस्सु र उच्च पहाडमा हल्का हिमपातको सम्भावना

User Image Prime TV News २ महिना अगाडि
Image of पश्चिमी वायुको असर कायमै, तराईमा हुस्सु र उच्च पहाडमा हल्का हिमपातको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।

यसको असरका कारण सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ, जसले बिहानको समयमा जनजीवन र यातायातमा असर पारिरहेको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत अन्य हिमाली क्षेत्रमा आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भूभागमा पनि यस्तै किसिमको मौसम देखिन सक्ने बताइएको छ।