रास्वपालाई संघीयता विरोधी शक्ति भन्दै मधेशबाट अस्वीकार गर्नुपर्छ: सीके राउत
Prime TV News २ महिना अगाडि 
काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयताविरोधी शक्ति भन्दै मधेशबाट अस्वीकार गरिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाले औपचारिक रूपमा पारित गरेको नीति नै संघीयता खारेज गर्ने दिशामा केन्द्रित रहेको दाबी गरेका छन्।
राउतका अनुसार चुनावी सभामा गरिने भाषण र भावनात्मक अभिव्यक्तिले पार्टीको वास्तविक चरित्र बदलिँदैन। पार्टीको केन्द्रीय समिति र संसदीय दलले पारित गरेको नीति नै अन्तिम सत्य हुने उनको भनाइ छ। उनले मधेशको मत तान्न निर्वाचनको मुखमा दिइने आश्वासनलाई राजनीतिक छलको रूपमा व्याख्या गरेका छन्।
उनको यो प्रतिक्रिया रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुरधाममा आयोजित कार्यक्रममा संघीयतालाई सुदृढ बनाउँदै अघि बढ्ने बताएका थिए । तर राउतले उक्त अभिव्यक्तिलाई व्यक्तिगत धारणा मात्र भन्दै पार्टीको आधिकारिक नीतिसँग असम्बन्धित भएको बताए।
डा. राउतले संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नु मधेशी शहीदप्रतिको साँचो सम्मान हुने उल्लेख गरे। उनका अनुसार संघीयता मधेश आन्दोलनको मुख्य उपलब्धि हो र यसलाई कमजोर पार्ने कुनै पनि शक्तिलाई मधेशले स्वीकार गर्ने छैन।
उनले भने, “संघीयता खारेज गर्ने एजेन्डा बोकेको पार्टीलाई मधेशले पराजित गर्नुपर्छ। यही बाटो मधेशी शहीदप्रतिको सम्मान हो।”












