मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनमा देशभर अनुगमन गर्ने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको क्रममा देशभर अनुगमन गर्ने भएको छ।
आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रिया मानव अधिकारको दृष्टिकोणबाट जाँच्ने योजना बनाएको हो। सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार, आयोगले सातवटै प्रदेशका सबै जिल्लामा अनुगमन टोली खटाउने तयारी गरेको छ।
अनुगमनको दायरामा निर्वाचनपूर्वको अवस्था, मतदान प्रक्रिया, मतगणना, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपांगता भएका व्यक्तिहरूको पहुँच, बालबालिकाको प्रयोग, आचारसंहिताको पालन लगायतका विषय समावेश हुनेछन्।
त्यस्तै, आयोगले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको नामावली संकलन भएको/नभएको, र निर्वाचनमा खटिएका स्वदेशी तथा विदेशी पर्यवेक्षकको स्वतन्त्र काम गर्ने अवस्थाको पनि अनुगमन गर्ने जनाएको छ।
काफ्लेले भने, “स्रोत साधनले भ्याएसम्म भरसक सबै जिल्लामा पुग्नेछौँ। अनुगमन कार्यको लागि अर्थ मन्त्रालयसँग समन्वय पनि भइरहेको छ।” आयोगले यस कार्यमार्फत मानवअधिकारको संरक्षण र सम्वर्द्धन सुनिश्चित गर्ने उद्देश्य राखेको छ।







