राष्ट्रपति पौडेल जापान जाँदै, सम्राट नारुहितो र प्रधानमन्त्री सनईसँग भेटवार्ता
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको अवसरमा जापान सरकारले उनलाई निमन्त्रणा गरेको हो।
भ्रमणका क्रममा राष्ट्रपति पौडेल टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, उनी जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग पनि औपचारिक भेटवार्ता गर्नेछन्।
भ्रमणको माघ १९ गते राष्ट्रपति पौडेलले जापान सरकारको आयोजनामा हुने नेपाल–जापान कूटनीतिक सम्बन्ध ७०औं वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेट, जापानी व्यावसायिक समुदायसँग बैठक र जापानस्थित नेपाली राजदूतावासको स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल र उच्चस्तरीय सरकारी प्रतिनिधि टोली रहनेछ। भ्रमण पूरा गरी उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्।







