एमालेबाट उम्मेदवार बनेपछि जसपाले पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेतालाई निष्कासन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा पूर्वमन्त्री प्रदीप यादवसहित ८ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टी निर्णयविपरीत नेकपा एमालेबाट उम्मेदवार बनेपछि उनीहरूलाई कारबाही गरिएको जसपा नेपालले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएको, पार्टी हितविपरीत गतिविधि गरेको तथा विधान र अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै निष्कासनको निर्णय गरिएको हो।
निष्कासनमा पर्ने नेताहरूमा पूर्वमन्त्री प्रदीप यादवसँगै चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा. शिवजी यादव रहेका छन्। पार्टीले जारी गरेको विज्ञप्तिमा पार्टी नीति, निर्णय र संगठनात्मक मर्यादा विपरीत कार्य गर्ने जोसुकैलाई कडा कारबाही गरिने स्पष्ट गरिएको छ।







