प्रतिनिधि सभा निर्वाचनका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट, २ लाखभन्दा बढी आवेदन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट प्रक्रिया पूरा भएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार यस पटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए। उनले भने, “चाहिने भन्दा कम आवेदन परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ। ती जिल्लामा पुनः दरखास्त आह्वान गरिएको छ र लिखित तथा मौखिक परीक्षाको नतिजा बुधवार सार्वजनिक गरिनेछ।”
निर्वाचन प्रहरीलाई माघ १५ देखि १० दिने तालिम दिइनेछ र माघ २५ देखि फिल्डमा परिचालन गरिनेछ। यस पटक सशस्त्र प्रहरीले पनि १५ हजार ११० जनालाई निर्वाचन प्रहरीका रूपमा भर्ना गर्दैछ। उनीहरूको छनोट जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको छ। प्रारम्भिक छनोटपछि सशस्त्र प्रहरीले तालिम दिनेछ।
प्रहरी प्रधान कार्यालयले आवेदन दिनेहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरी अपराधमा संलग्न वा फरार व्यक्ति नभएको सुनिश्चित गरेको छ। कुल मिलाएर यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुनेछन्। निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ।







