नेपाली कांग्रेसको दाबी: आगामी चुनावमा मुख्य प्रतिस्पर्धा पुरानै दलबीच
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा परम्परागत राजनीतिक दलहरूसँग नै मुख्य प्रतिस्पर्धा हुने बताएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने निर्वाचनमा नयाँ शक्तिभन्दा पनि स्थापित दलहरूबीच चुनावी टक्कर हुने धारणा राखेका हुन्।
प्रवक्ता चालिसेले निर्वाचनको परिणाम अन्ततः मतदाताले तय गर्ने स्पष्ट पार्दै भने, “यो गम्भीर विषय हो र निर्णय मतदाताकै हातमा हुन्छ। तर राजनीतिक यथार्थ हेर्दा प्रतिस्पर्धा पुरानै पार्टीबीच हुने देखिन्छ।”
उनले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी नयाँ नेतृत्व र पुनर्संरचित संगठनात्मक संरचनासहित चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएको जानकारी दिए। कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइसकेको उल्लेख गर्दै चालिसेले पार्टीका नीति, योजना र कार्यक्रमलाई केन्द्रमा राखेर जनताको विश्वास जित्ने अभियान अघि बढाइएको बताए।
उनका अनुसार कांग्रेस आगामी निर्वाचनमा संगठन मजबुत बनाउँदै स्थायित्व र विकासलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ जाने तयारीमा जुटेको छ।








