व्यवसायीहरूले नगद कारोबार सीमा बढाउन र भन्सार सुधारको माग
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका शीर्ष नेताहरूले व्यवसायीका लागि नगद कारोबार सीमा र भन्सार प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल ५ लाख रुपैयाँसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या परेको बताए। बैंकिङ सेवा देशका सबै क्षेत्रसम्म पुग्न नसकेको अवस्थामा यो सीमा व्यवसाय सञ्चालनमा चुनौती भएको उनले उल्लेख गरे।
ढकालले भने, “भन्सार राजस्वमा मात्रै ध्यान दिने होइन, स्वदेशी उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा नीतिहरू केन्द्रित हुनु आवश्यक छ। अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्न सही समय हो।”
त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल ले ५ लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई कठिनाइ भएको बताए। उनले भन्सार क्षेत्र प्रविधिमैत्री र एकद्वार प्रणालीमा सुधार गर्नु पर्ने, साथै विद्यमान भन्सार ऐनका दण्ड-जरिवानासम्बन्धी अव्यवहारिक व्यवस्थाहरू पुनर्विचार गर्नुपर्ने सुझाए।
अग्रवालले नेपालमा भन्सार दरहरू समायोजन गरेर प्रतिस्पर्धी बजार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए।












