‘कुमारी’ चलचित्रको ट्रेलर काठमाडौंमा सार्वजनिक, दस हजार दर्शक उपस्थित
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रेम कथानक चलचित्र ‘कुमारी’ को ट्रेलर काठमाडौंको भृकुटीमण्डपमा खुला स्थानमा सार्वजनिक गरिएको छ।
निर्माणपक्षका अनुसार कार्यक्रममा करिब दस हजार दर्शक उपस्थित थिए। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बू र उनको ब्यान्डले विशेष प्रस्तुति दिएका थिए। यस अवसरमा चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले हजारौँ दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरे।
ट्रेलरले प्रेम कथालाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमाञ्चक रोमान्स र मनोवैज्ञानिक अन्तद्वन्द्व को झलक प्रस्तुत गरेको छ। चलचित्र दिनेश राउत द्वारा निर्देशित छ र महेन्द्र अधिकारी द्वारा निर्मित तथा विकास सुवेदी द्वारा लिखित छ। यसमा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारीसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायत कलाकारको अभिनय छ ।
छायांकन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, र साउन्ड डिजाइन उत्तम न्यौपानेद्वारा गरिएको छ। चलचित्र माघ २३ बाट प्रदर्शनमा आउँदैछ।













