सुपर सिक्सको अन्तिम आशा बोकेर नेपाल मैदानमा , स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ
Prime TV News २ महिना अगाडि 
काठमाडौ । काठमाडौमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग निर्णायक प्रतिस्पर्धा गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेकी नेपाली टोलीकी कप्तान इन्दु बर्माले फिल्डिङ रोजेपछि स्कटल्यान्डले पहिले ब्याटिङ थालेको छ।
यो खेल नेपालका लागि अत्यन्त कठिन समीकरणसहित आएको छ। सुपर सिक्समा पुग्न नेपालले स्कटल्यान्डलाई हराउनैपर्छ । त्यो पनि फराकिलो अन्तरले। जित मात्रै पर्याप्त छैन, अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पनि ठूलो अन्तरले हराउनुपर्ने बाध्यता छ। अन्यथा नेपाल बाहिरिन्छ ।
आजको खेलमा नेपालले टोली संयोजनमा एक परिवर्तन गरेको छ। मनीषा उपाध्यायलाई प्लेइङ–११ मा समेटिँदा सुमन विष्ट बाहिरिएकी छन्। टोली व्यवस्थापनले निर्णायक खेलमा बलिङ आक्रमण बलियो बनाउने रणनीति अपनाएको देखिन्छ।
नेपालको प्लेइङ–११ मा विन्दु रावल, सम्झना खड्का, रोमा थापा, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता रानामगर, रिया शर्मा र मनीषा उपाध्याय छन्।
अंक तालिकाको अवस्था नेपालका लागि निराशाजनक छ। दुई खेलमा हार र एक जित निकालेको नेपाल दुई अंकसहित चौथो स्थानमा छ। स्कटल्यान्ड भने दुई जित र एक हारसहित चार अंकका साथ दोस्रो स्थानमा रहेको छ। आज नेपालले जित हात पारेर चार अंक जोडे पनि रनरेट निर्णायक हुने सम्भावना उच्च छ।







