‘युवाको आवाज पार्टी र राज्य संरचनामा पुर्याउन निरन्तर संघर्षरत छु’ : शेखर कोइराला
Prime TV News २ महिना अगाडि 
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाका माग र मुद्दालाई पार्टी तथा राज्य संरचनाको केन्द्रमा ल्याउन आफूले लामो समयदेखि निरन्तर पहल गर्दै आएको बताएका छन्। विराटनगरमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा उनले जेनजी आन्दोलन अघि नै युवाको प्रतिनिधित्व आवश्यक रहेको विषयमा आफूले पार्टीभित्र आवाज उठाएको बताए।
कोइरालाले राजनीतिक स्वच्छता र सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’ अभियानमा सक्रिय रहेको जानकारी दिए। उनले भने, “कुनै पनि परिस्थितिमा म सुशासन र स्वच्छ राजनीतिबाट पछि हट्दिनँ।”
उनले युवालाई नीति निर्माण तहमा प्रभावकारी सहभागिता गराउन स्पष्ट संरचना आवश्यक रहेको धारणा राखे। यसका लागि केन्द्रीय तहमा २० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव आफूले पहिल्यै अघि सारेको उनले स्मरण गराए।
युवालाई नेतृत्वमा ल्याउँदा मात्र देशमा आशा र भरोसा पैदा हुने भन्दै कोइरालाले कांग्रेसको चौधौँ महाधिवेशनमा युवालाई नेतृत्व तहमा अघि सारिएको बताए। “देशको विकास र जनतामा विश्वास जगाउन युवालाई जिम्मेवारी दिनैपर्छ भन्ने मान्यताका साथ मैले काम गरेको हुँ,” उनले स्पष्ट पारे।







