राष्ट्रियसभा सदस्यका लागि आज मतदान, सातै प्रदेशमा केन्द्र तोकिए
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र सम्पूर्ण तयारी पूरा भइसकेको छ।
कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा भने निर्वाचन नहुने भएको छ। उक्त पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र तोकिएको छ।
यसैगरी गण्डकी प्रदेशमा पोखरा स्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराहीको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशमा धनगढीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था मिलाइएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ।







