मनाङमा कांग्रेस र एमाले मिले : एमालेले उम्मेदवारी फिर्ता लियो

User Image Prime TV News २ महिना अगाडि
Image of मनाङमा कांग्रेस र एमाले मिले : एमालेले उम्मेदवारी फिर्ता लियो

मनाङ । मनाङमा आगामी निर्वाचनमा प्रमुख दल नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले बिहीबार बिहानै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ता हुने पत्र दर्ता भइसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनाङमा चुनाव नलड्ने निर्णय गरेको छ। राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिएका छन्। स्थानीय स्रोतका अनुसार एमालेले मनाङमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ। यसअनुसार अब मनाङमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ।

नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ। स्थानीय परम्परा र शान्ति कायम राख्नका लागि मनाङका लामा गुरुहरूले प्रमुख दलबीच सहमति जुटाउन प्रयास गरेका थिए। यसै क्रममा भ्राताङमा भएको भेलामा दुवै दलका उम्मेदवारको उपस्थितिमा चिट्ठा तानेर निर्णय लिइयो।

चिट्ठा अनुसार कांग्रेसले चुनाव लड्ने र एमाले ब्याक हट्ने निर्णय भयो। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए अनुसार मनोनयन फिर्ता भएको निवेदनमा निर्णय आज दिइनेछ। उक्त सहमतिअनुसार, आगामी निर्वाचनमा प्रदेशका दुई निर्वाचन क्षेत्र एमालेले पाउने र कांग्रेसले त्यहाँ एमालेलाई सहयोग गर्ने समझदारी भएको छ।

मनाङमा यो परम्परा विगतका निर्वाचनमा पनि प्रचलित रहेको थियो ।