अमेरिकाबाट एकैदिन ९१ नेपाली डिपोर्ट, चार्टर विमानमार्फत काठमाडौं अवतरण
Prime TV News २ महिना अगाडि 
काठमाडौ । अमेरिकाले एकैदिन ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर विमानमार्फत काठमाडौं पठाएको छ।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेपछि एकैदिन यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट भएको यो पहिलो घटना हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार गत सोमबार ती नेपाली नागरिकहरू काठमाडौं आइपुगेका हुन्।
वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार अमेरिकाले चार्टर विमानको व्यवस्था गरेर उनीहरूलाई नेपाल पठाएको हो। यसअघि पनि अमेरिकाले ठूलो संख्यामा नेपाली नागरिकलाई चार्टर विमानमार्फत डिपोर्ट गर्दै आएको छ। पुस ३ गते ७५ जना नेपाली काठमाडौं ल्याइएका थिए भने गत भदौ १९ र जेठ २५ गते क्रमशः ३७–३७ जना नेपाली नागरिकलाई अमेरिकाले एकैपटक नेपाल फर्काएको थियो।
अमेरिकी निकायका अनुसार अमेरिकामा बस्न कानुनी हैसियत स्थापित गर्न नसकेका, अवैध बाटोबाट प्रवेश गरेका वा भिसा अवधि समाप्त भइसकेपछि पनि बसिरहेका नेपाली नागरिकहरूलाई डिपोर्ट गरिएको हो।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट प्रक्रिया अघि बढाउनुअघि अध्यागमन विभागलाई जानकारी गराउने गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि ती नागरिकहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइने गरिएको छ।
प्रहरीले डिपोर्ट भएर आएका व्यक्तिहरूसँग आवश्यक सोधपुछ गर्ने गरेको छ। विशेषगरी मानव तस्करीमार्फत अमेरिका पुर्याउने गिरोहबारे सूचना संकलनमा प्रहरीको ध्यान केन्द्रित रहने गरेको छ।
हालका घटनाक्रमले अवैध आप्रवासनमार्फत अमेरिका जाने नेपाली नागरिकको संख्या अझै उच्च रहेको संकेत गरेको छ भने यस्तो जोखिमपूर्ण यात्राबाट जोगिन सरकारी निकायले सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ।







