कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया तीव्र, आज संसदीय बोर्डको बैठक बस्दै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्ने प्रक्रिया तीव्र बनाएको छ।
पार्टी सभापति गगन थापाको पहलमा आज बिहान ११ बजेदेखि संसदीय बोर्डको बैठक बस्दै छ, जहाँ उम्मेदवारहरूको टुंगो लगाइने तयारी गरिएको छ। संसदीय बोर्डका एक सदस्यका अनुसार बैठकमा सबै समूह र धारलाई समेट्ने गरी टिकट वितरणको निर्णय लिइनेछ।
पार्टीभित्र देखिएका मतभेदलाई व्यवस्थापन गर्दै सहमतिका आधारमा उम्मेदवार चयन गर्ने प्रयास भइरहेको उनले बताए। कांग्रेसको संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री सदस्य छन्। यही निकायले उम्मेदवार छनोटमा अन्तिम निर्णय गर्ने संवैधानिक जिम्मेवारी राख्छ।
उम्मेदवार चयनलाई लिएर पार्टीभित्र सक्रिय छलफल जारी छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षबीच सहमति कायम गर्न नेताहरू हिजोदेखि निरन्तर संवादमा जुटेका छन्।
नेताहरूका अनुसार आन्तरिक एकता कायम राख्दै चुनावी प्रतिस्पर्धामा मजबुत रूपमा प्रस्तुत हुने उद्देश्यले उम्मेदवार चयन प्रक्रिया अगाडि बढाइएको हो।







